मह बेचेर ३५ लाख

समाचार

काठमाडौं : शिवसताक्षी नगरपालिका दूधे झापाकी मौरीपालक किसान देवी दाहाललाई २०६० सालअघि घरखर्च चलाउन मुस्किल पथ्र्यो। उनले २०६० देखि २ घार मौरी पाल्न थालिन्। उनीसँग अहिले ३ सय घार मौरी छ। मह बेचेर उनले वार्षिक ३५ लाख कमाउँछिन्। उनले गत वर्ष

३५ लाख आम्दानी गरिन्। त्यसमध्ये १२ लाख खर्च भएको थियो। खर्च कटाएर उनले २३ लाख नाफा गरिन्। उनले दुई जनालाई नियमित पारिश्रमिक दिएर श्रमिक राखेकी छन्। अन्य ६ जनालाई मौसमअनुसार ज्यालामा काम लगाउँछिन्। मह काढ्न, चराउन जान ज्यालादारी श्रमिक बढी चाहिने उनले सुनाइन्। हेर्न भने आफैं जान्छिन्। मह बेचेर उनले दुई छोराछोरीलाई उच्च शिक्षासम्मको शिक्षा दिलाइन्। सम्पत्ति पनि राम्रै जोडेकी छन्। यसपालिको पुस मसान्तसम्म उनले २२ लाखको मौरी र मह बेचिसकेकी छन्। त्यसमध्ये ५ लाख खर्च भइसकेको छ। अरू १७ लाख उनको नाफा हो। मह जेठसम्म बिक्री हुन्छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले गत वर्षको तुलनामा व्यापार केही कम हुने उनको आकलन छ। ‘कोरोनाले भनेजति मह निकाल्न पाइएन’, उनले भनिन्, ‘अहिले सिजन राम्रो छ।’

झापामा चरन अभाव छ। दाङ, चितवनसम्म लैजानुपर्छ। जग्गाको समस्या भएकाले चरनको अभाव भएको हो। किसानले फापर लगाउन छाडेकाले मह उत्पादनमा समेत ह्रास आउन थालेको उनको बुझाइ छ। ‘फापर लगाउनुहोस्, हामी किन्छौं भन्दा पनि कृषक लगाउन मान्दैनन्, बरु बाँझै राख्न तयार हुन्छन्’, उनले भनिन्।

पछिल्लो समय स्थानीय सरकारले जग्गा बाँझो राख्न नदिने व्यवस्था गरेसँगै उत्पादन बढ्ने विश्वास उनले व्यक्त गरिन्। ‘परागसेचन हुन्छ भन्ने चेतना छैन’, उनले भनिन्, ‘मौरीले पुष्प खान्छन् भन्ने किसानलाई भ्रम छ।’ विषादी तथा कीटनाशक औषधिसम्बन्धी चेतना फैलाउन सके महबाट मनग्गे आम्दानी गर्न सकिने उनले बताइन्।

दाहाल नमुना किसान मात्र हुन्। संस्थामा आबद्ध अधिकांशले मौरी पाल्छन्। शिवसताक्षी महिला मौरीपालन सहकारी संस्थाका ४ सय ६८ कृषकमध्ये ३ सय २० जना कृषकले मौरी पालेका छन्। संस्थामा २० हजारदेखि १ लाखसम्म सेयर सदस्य गरी ९२ करोड सेयर पुँजी छ। संस्थाले १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *