बुटवल : बुटवलमा सम्पन्न खुला लन टेनिसको उपाधि रितिक राना र प्रेरणा कोइरालाले जितेका छन्। मंगलबार भएको पुरुष एकलको फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै रितिकले उपाधि जितेका हुन्। उपाधिसँगै उनले नगद ४० हजार प्राप्त गरे। उपविजेता
खत्रीले २० हजारमा चित्त बुझाए। महिला एकलतर्फको उपाधि भिडन्तमा प्रेरणाले अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा पाराजित गरिन्। उनले पनि ४० हजार नगद पुरस्कार पाइन्। पाँच दिनसम्म चलेको प्रतियोगिताको ३५ वर्षमाथिको स्पर्धामा कमल भण्डारी, ४५ वर्षमाथि चन्द्र शाही र ५५ वर्षमाथिको स्पर्धामा हिमाल शाहले उपाधि जिते। विजेता खेलाडीलाई नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले पुरस्कार प्रदान गरे।
सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको उपाधितर्फ उन्मुख देखिएको छ। एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा सातदोबाटोले श्रीभगवती क्लबलाई १–० गोलले हरायो।
सातदोबाटोको जितमा दोर्जे तामाङले निर्णायक गोल गरे। दोर्जेले २५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। विपक्षीले डिबक्सभित्र ह्यान्ड गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो।
शीर्ष स्थानमा रहेको सातदोबाटोले लिगमा अपराजित यात्रा कायम राखेको छ। सातदोबाटोले आठ खेलबाट २२ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको खुमलटारको १९ अंक छ। सातदोबाटोसँग पराजित श्रीभगवती ६ अंकसहित नवौं स्थानमा छ।
अर्को खेलमा आरसीटीले टुसाल युथ क्लबलाई १–० गोलले हरायो। आरसीटीलाई जिताउन अजित गुरुङले निर्णायक गोल गरे। अजितले ७३औं मिनेटमा गोल गरेका थिए। जितसँगै आरसीटी लिगको पाँचौं स्थानमा उक्लिएको छ। आरसीटीले आठ खेलबाट १२ अंक बनाएको छ। आठ अंक बनाएको टुसाल सातौं स्थानमा छ।