काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र उद्योग सचिवबीच भेटवार्ता भएको छ। चेम्बरअध्यक्ष पदाधिकारीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएका सचिवहरूसँग भेटघाट तथा छलफल गरेका हुन्। बुधबार बिहान मन्त्रालयमा भएको छलफलमा राजेश
काजी श्रेष्ठसहित चेम्बर प्रतिनिधिहरूले उद्योग तथा वाणिज्य क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधार तथा सहजीकरण गर्न आग्रह गरेका छन्।
उद्योग सचिव अर्जुन प्रसाद पोखरेलसँगको भेटमा अध्यक्ष श्रेष्ठले उद्योग तथा व्यवसाय दर्तामा रहेको झन्झटिलो प्रक्रिया अन्त्यका लागि पहल गरिदिन आग्रह गरे। ‘उद्योग तथा व्यवसाय सञ्चालन गर्न सरकारका फरकफरक निकायमा दर्ता गर्न दौडनुपर्ने अवस्था अन्त्य नगरी औद्योगिकरण तथा उद्यमशीलताको विकास हुँदैन’, उनले भने, ‘दर्ता र कर लिने काम एकद्वार प्रणालीबाट नहुँदा व्यवसायीहरूले अनावश्यक झन्झट बेहोर्नुपरेको छ।’
संघीय, प्रदेश तथा स्थानीय तहका फरकफरक निकायहरूमा दर्तादेखि करसम्मको प्रक्रियाले गर्दा व्यवसायीहरू मारमा परेकाले सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए। विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन गर्ने सरकारको निर्णयमा आशातीत प्रगति नहुँदा उद्योगी व्यवसायीहरूलाई यसले उत्साही बनाउन नसकेको उनको दाबी छ। रुग्ण उद्योगहरू सञ्चालन तथा व्यवस्थापनमा पनि गम्भीरतापूर्वका कार्य गर्न उनले आग्रह गरे।
छलफलमा उद्योग सचिव पोखरेलले संघ, प्रदेश र स्थानीय सरकारका नीति नियम तथा कानुनबीच तादाम्यता मिलाएर व्यवसायिक वातावरण सिर्जना गर्न सरकार प्रयत्नशील रहेको बताए। ‘उद्योग व्यवसायको दर्ता प्रक्रियालाई छोट्याएर सरल बनाउन हामी लागिरहेका छौँ’, सचिव पोखरेलले भने, ‘नीतिमा समस्या त्यति छैनन्, केही व्यवहारिक अप्ठेराहरू फुकाएर जानुपर्छ।’ उद्योग व्यवसाय दर्ता,
नवीकरण लगायतका काम जति दिनमा गर्ने भनिएको छ, त्यो सीमाभित्र गर्ने गरी निर्देशन दिइने सचिव पोखरेलले बताए। विशेष आर्थिक क्षेत्र (सेज) सरकारको महत्वाकांक्षी कार्यक्रम भएको उल्लेख गर्दै सचिव पोखरेलले उद्देश्यअनुसार किन प्रगति हुन नसकेको भनेर सरकारले अध्ययन गरिरहेको जानकारी दिए।