घरैपिच्छे व्यवसायिक तरकारी खेती (फोटोफिचर)

समाज

दैलेख : विष्णा शाही, उमेरले ७५ वर्ष काटिन् । बुढेसकालमा पनि उनी घरायसी काममा अझै सक्रिय रहन्छिन् । उनको परिवारका सबै सदस्य पनि तरकारी खेतीमा सक्रिय छन् । छोरा बुहारी र नातीहरुसँग रमाउँदै बारीमा तरकारी रोप्न, गोडमेल गर्न उनले छाडेकी छैनन् । कुनै बेला

नुन खुर्सानीसँग रोटी खाएर मेलापात, घाँस दाउरा, चुलो चौको गरेको सम्झना उनमा ताजै छ । बारीको डिलमा बसेर तरकारी नियाल्दै उनी भन्छिन्, ‘हाम्रो पालामा यसरी तरकारी फलाउनुपर्छ भन्ने थाहै थिएन्। सुख्खा रोटीले पेट भर्नुपथ्र्यो, परम्परागत खेतीबाट वर्षभरी खान समेत पुग्दैनथ्यो।’ बुढेसकालमा आफ्नो बारीभरी लटरम्म तरकारी फलेको देख्न पाउँदा उनी खुसी छिन् । विष्णाका बुहारी नानीदेवी शाही विगत चार वर्षदेखि तरकारी खेतीमै व्यस्त छिन् । उनको दिनचर्या बारीमै बित्ने गर्छ । अधिकांश समय तरकारी खेतीको स्याहार सुसारमै बिताउने नानीदेवी भन्छिन्, ‘मेहनत गरेअनुसारको प्रतिफल पनि राम्रो प्राप्त भएको छ ।’

नानीदेवीका छोरा मदन शाही कक्षा १२ मा पढ्दापढ्दै रोजगारीको खोजीमा छिमेकी मुलक भारतको गुजरात पुगे । झण्डै दुई वर्ष भारतमा नोकरी गरेर फर्केका मदन पनि अहिले तरकारी खेतीमै छन् । तरकारी खेतीबाटै एक सिजनमा ३० हजार रुपैयाँसम्म आम्दानी गरेका मदन भन्छन्, ‘अर्काको देशमा भाँडा माझ्नुभन्दा आफ्नै देशमा परिश्रम गरे मनग्य आम्दानी हुँदोरहेछ, अब भारत जाँदिन् ।’ परम्परागत खेतीहरु धान मकै गहुँ लगाउँदा उत्पादन कम हुने र तरकारी खेतीबाटै राम्रो आम्दानी भएको उनको बुझाइ छ ।

यो परिवार जस्तै २६ वर्षीया शान्ति सिजापतीले व्यवसायिक रुपमा बन्दा काउली, आलु मुला, टमाटर खेती गरिरहेकी छिन् । एकै सिजनमा तरकारी बेचेर २५ हजार रुपैयाँसम्म आम्दानी गरेको उनी बताउँछिन् । ‘उत्पादन भएको तरकारी दैलेख सहित कालिकोट र अछामसम्म बिक्री हुँदै आएको छ,’ उनी भन्छिन्,’तरकारी खेतीबाटै परिवारको गुजारा चल्दै आएको छ ।’

व्यावसायिक तरकारी खेतीबाटै जीवन बदलिएको शान्तिको बुझाइ छ । तरकारी खेती सुरु गरेपछि उनलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी शान्ति भन्छिन्,’अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *