सिन्धुलीमा बहुउद्देश्यीय आयोजना

समाचार

सिन्धुली : लामो समयदेखि चर्चामा रहेको ‘सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को बिहीबार शिलान्यास गरिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका—२ कुसुमटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच आयोजनाको शिलान्यास गरेका हुन्। हिमाल–पहाड

र तराईलाई समृद्धिका रूपमा जोड्ने सेतुका रूपमा हेरिएको उक्त आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले परियोजनाबाट अबको पाँच वर्षभित्रमा खाद्य संकट समाधान गर्दै आयातलाई घटाएर निर्यातमा जोड दिने बताए। ‘यस आयोजनालाई हामीले इकोनोमिक गेम चेन्जरका रूपमा हेरेका छौं। अबको पाँच वर्षभित्रमा तराईका फाँटमा सिँचाइ पुर्‍याएर खाद्य तथा कृषि उत्पादनमा आत्मनिर्भर बन्छौं र निर्यातमा समेत जोड दिनेछौं’, उनले भने। टनेल प्रविधिबाट निर्माण गरिने आयोजनाबाट मध्यतराईको धनुषा, महोत्तरी, सर्लाही, बारा र रौतहट जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। ३१ मेगावाट विद्युत् उत्पादनसमेत गरिनेछ। ‘सरकार समृद्धिको बाटोमा अघि बढेको छ। यस्ता थुप्रै आयोजना निर्माण गरिएका छन्। यसबाट वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी आम्दानी दिन सकिन्छ’, ओलीले भने।

समयमा यस्ता आयोजनाको निर्माण कार्य सम्पन्न गर्न कुनै कसुर नराख्नसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिए। उनले सुनकोसी–कमला डाइभर्सनको कामसमेत छिट्टै सञ्चालन गरेर सिंगो तराईलाई सिञ्चित गर्ने उद्घोष गरे। भित्री मधेसकै विकासको रूपमा हेरिएको मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीमाढीको धुरा बजारमा निर्माण अवरोध गरिएकोप्रति चिन्ता व्यक्त गर्दै बजार नभत्काई इलाइमेन्ट चेन्ज गरेर भए पनि तत्काल राजमार्ग निर्माणको काम थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिए।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा रहेका प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार अब समृद्धिको यात्रामा लागेको उल्लेख गर्दै केपी ओलीलाई मधेस विरोधी भनेर पस्न रोके पनि पूरै मधेस सिँचाइ हुनेगरी मधेसमा पानि भने पसाएरै छाड्ने बताए।

राजनीतिक पूर्वाग्रहका कारण आफ्नो विरोध गरे पनि विकासका कुनै पनि कामलाई नरोक्न मधेसका नागरिकलाई सन्देश लगिदिन प्रधानमन्त्री ओलीले मुख्यमन्त्री राउतलाई आग्रह गरे। प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्माण आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *