नयाँ विद्युत् ऐन आवश्यक

समाचार

काठमाडौं : नयाँ विद्युत् विधेयक ऐनको रूपमा नआएसम्म भारतसँगको विद्युत् व्यापारका लागि नेपालको तर्फबाट कार्यविधि बनाउन नसकिने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। नयाँ विद्युत् विधेयक व्यवस्थापिका संसद्मा छलफलमा रहेकाले त्यहाँबाट पारित नभएसम्म अन्तरदेशीय

व्यापारको कार्यविधि बनाउन नसकिने ऊर्जा मन्त्रालयका प्रवक्ता मधु भेटवालले बताए। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत शुक्रबार सार्वजनिक गरेको अन्तरदेशीय विद्युत् व्यापार नियमावली, २०२१ ले नेपालको बिजुली भारतमा बेच्ने बाटो खोलेको थियो। अब नेपालले कस्तो कार्यविधि बनाउँछ भन्ने सम्बन्धमा सहसचिव भेटुवालले भने, ‘अन्तरदेशीय विद्युत् व्यापार कार्यविधि बनाउन गठित समितिको पहिलो बैठक बसिसकेको छ। हामीले कामको बाँडफाँट पनि गरिसक्यौं। अब विधेयक आएपछि काम अघि बढ्छ।’ उक्त समिति सन् २०१८ मा सहसचिव प्रवीणराज अर्यालको संयोजकत्वमा गठित भएकोमा एक पटक पनि बैठक नबसाई आफ्नो कार्यकाल पूरा गरी मन्त्रालयबाट बिदा भइसकेका छन्। अहिले भेटुवालको संयोजकत्वमा उक्त समितिको काम अघि बढाइएको छ। नयाँ विधेयक ऐनको रूपमा आउँदासम्म अन्तरदेशीय कार्यविधिको प्रारूप तयार गर्ने गरी काम अघि बढाएको उनले अन्नपूर्ण पोस्ट्लाई बताए।

उक्त कार्यविधिमा राज्यका निकायको संस्थागत संरचना, प्रणालीगत व्यवस्था, विद्युत् वितरणको प्रक्रियाजस्ता पक्षलाई समावेश गरिने उनले जानकारी दिए। नयाँ विद्युत् विधेयकले पनि माथि उल्लेखित विषयलाई समेटेकाले उक्त ऐन आएपछि त्यसको आधारमा नै अधिकार र कर्तव्यको दायराभित्र रहेर कार्यविधिले गति लिने भेटुवाल बताउँछन्। आगामी वर्षायामबाट भारतीय बजारमा प्रतिस्पर्धाको माध्यमबाट नै विद्युत् व्यापार गर्न सक्ने गरी कार्यविधि तयार गरिने उनले स्पष्ट पारे।

नेपाल सरकारले भारतसँग २०१४ मा विद्युत् व्यापार सम्झौता गरी दुई देशबीच ऊर्जा व्यापार गर्ने आधार तयार गरेको थियो। त्यसको करिब चार वर्षप्छि मात्र भारत सरकारले क्षेत्रीय ऊर्जा व्यापारलाई सहजीकरण गर्न क्रमशः २०१८ मा भारतको विद्युत् मन्त्रालयले संशोधन गरी जारी गरेको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी निर्देशिका तथा भारतको केन्द्रीय विद्युत् नियमन आयोगले मार्च २०१९ मा जारी गरेको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी नियमावली र केन्द्रीय विद्युत् प्राधिकरणले अन्तरदेशीय कार्यविधि जारी गरेको छ।

उक्त कार्यविधिअनुसार अब भारत छिमेकी राष्ट्रबाट विद्युत् आयात/निर्यात तथा भारत हुँदै तेस्रो मुलुकमा विद्युत् आदानप्रदान गर्न तत्पर रहेको र क्षेत्रीय ऊर्जा व्यापारको बाटो पनि खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *